दफा १३
अन्य प्रदेशको प्रदेश प्रहरी परिचालन गर्न सकिने
(१) कुनै प्रदेशमा वा एकभन्दा बढी प्रदेशमा गम्भीर अशान्ति भएको, अशान्ति हुने सम्भावना रहेको वा विपद्को अवस्था सिर्जना हुन गएको कारण अर्को प्रदेशको प्रदेश प्रहरीको सहयोग समेत आवश्यक पर्ने भएमा सम्बन्धित प्रदेश सरकारले सो प्रयोजनको लागि नेपाल सरकारलाई अनुरोध गरी पठाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुरोध भई आएमा वा कुनै प्रदेशको अशान्ति रोक्न वा विपद्को अवस्थामा सहयोग गर्न अर्को प्रदेशको प्रहरी समेत परिचालन गर्नु पर्ने आवश्यक ठानेमा नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारलाई निर्देशन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निर्देशन भई आएमा सम्बन्धित प्रदेश सरकारले आवश्यक सङ्ख्यामा सो प्रदेशको प्रदेश प्रहरीलाई अर्को प्रदेशमा खटाउनु पर्नेछ।
(४) यस दफा बमोजिम अर्को प्रदेशमा प्रदेश प्रहरी खटिएको अवस्थामा त्यस्ता प्रहरी कर्मचारीलाई परिचालन गर्दा नेपाल प्रहरीले आवश्यक समन्वय गर्नु पर्नेछ।